काठमाडौं आकृति सुनार ।
नेकपा (एमाले) का सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउन नसकेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि व्यंग्य गरेका छन्।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्री अनुपस्थित रहनु रास्वपाको कमजोरी भएको टिप्पणी गरे।
‘जुनसुकै बहाना बनाए पनि प्रधानमन्त्रीले तपाईंहरूलाई टेर्नुभएन,’ राईले भने, ‘प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्नु कमजोरी हो।’
उनले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीलाई संसदीय मूल्य र मान्यता सिकाउन आग्रह गर्दै लोकतान्त्रिक प्रणालीमा संसदप्रति जवाफदेहिता आवश्यक हुने बताए।
राईले प्रधानमन्त्री र अर्थमन्त्री दुवै छलफलमा उपस्थित नभएको भन्दै जनप्रतिनिधिलाई हेप्ने काम भएको आरोप लगाए।
उनले रास्वपाले चुनावका बेला नयाँ राजनीतिक अभ्यासको नारा दिए पनि अहिलेको नीति तथा कार्यक्रम भने पुरानै शैलीको ‘डुप्लिकेट’ जस्तो भएको टिप्पणी गरे।
साथै उनले नीति तथा कार्यक्रममा गाँजा खेती, विदेशबाट पर्यटक भित्र्याउने योजना तथा तमोर जलाशययुक्त आयोजना जस्ता विषय समावेश नभएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्