काठमाडौं आकृति सुनार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुनुलाई ‘परम्पराको क्रमभङ्गता’को रूपमा व्याख्या गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भइरहेका आलोचनाप्रति प्रतिक्रिया दिएका हुन्।
सांसद आचार्यले संसद्मा प्रधानमन्त्रीको पहिरनदेखि कार्यशैलीसम्मका विषयमा फरक–फरक धारणा आउनु स्वाभाविक भएको बताए। उनले स्थापित विधि र प्रक्रिया नै सबैभन्दा महत्त्वपूर्ण हुने धारणा राखे।
उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीले दिएको अधिकार प्रयोग गरेको दाबी गर्दै असन्तुष्टि भए कानुनी बाटो अपनाउन विपक्षी दललाई सुझाव दिए।
आचार्यले प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था रहेको उल्लेख गरे।
यसैबीच उनले सांसदहरूको कार्यसम्पादन प्रभावकारी बनाउन स्वकीय सचिवको सुविधा आवश्यक रहेको माग पनि गरेका छन्। अध्ययन र अनुसन्धानमा सहयोग पुर्याउन यस्तो व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्