काठमाडौं आकृति सुनार ।
निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै पटक गर्ने विषयमा छलफल थालेको छ।
स्थानीय तह निर्वाचन २०७९ वैशाखमा भएको थियो भने प्रदेशसभा निर्वाचन सोही वर्ष मंसिरमा सम्पन्न भएको थियो। आयोगले छुट्टाछुट्टै निर्वाचन गर्दा खर्च र जनशक्ति बढी परिचालन गर्नुपर्ने भएकाले दुवै निर्वाचन एकै पटक गर्न सकिने विकल्पमा छलफल अघि बढाएको हो।
आयोगका अनुसार एकै पटक निर्वाचन गर्दा खर्च कम हुने, एउटै जनशक्तिबाट चुनाव गराउन सकिने तथा व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।
निर्वाचन आयोगले यस विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन। आयोगका पदाधिकारीहरूबीच आन्तरिक छलफल भइरहेको बताइएको छ।
मंगलबार निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरणसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै पटक गर्न सकिने विषयमा राजनीतिक दलहरूको सुझाव मागेका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। आयोगको प्रारम्भिक बुझाइअनुसार प्रदेशसभा निर्वाचनसँगै चुनाव गराउँदा ठूलो रकम बचत हुन सक्ने देखिएको छ।
यसैबीच, आयोगले राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि हुने उपनिर्वाचन विद्युतीय उपकरणमार्फत गराउने विषयमा पनि राजनीतिक दलहरूसँग छलफल थालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्