Skip to content

नीति तथा कार्यक्रममा जनअपेक्षा सम्बोधन भएन : एमाले

काठमाडौं आकृति सुनार ।

नेकपा (एमाले) का सांसदहरूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा बिहीबार भएको छलफलमा एमाले सांसदहरूले सरकारले ल्याएको कार्यक्रममा आर्थिक, सामाजिक तथा शासकीय सुधारको स्पष्ट मार्गचित्र नदेखिएको टिप्पणी गरेका हुन्।

एमाले सांसद सुहाङ नेम्वाङले आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट योजना नीति तथा कार्यक्रममा नदेखिएको बताए। उनले उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिँदै परनिर्भरताबाट मुलुक अघि बढ्न नसक्ने धारणा राखे।

उनले संविधान संशोधन जनताको अधिकार र अग्रगमनका लागि हुनुपर्ने उल्लेख गर्दै सहमति र साझा भावनाले मात्रै संविधानलाई स्थायित्व दिने बताए।

त्यसैगरी एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री र मन्त्रीहरू नै नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाए। उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कार्यक्रम सरकार आफैँले तयार पारेको हो कि होइन भन्ने प्रश्न उठाए।

एमाले सांसद क्षितिज थेबेले नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक दिशा दिन नसकेको टिप्पणी गरे। उनले प्रविधि र अनुसन्धानमा आधारित उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्