Skip to content

भारतीय पर्यटकका लागि नियम परिवर्तन भएको खबर भ्रामकः पर्यटन बोर्ड

काठमाण्डौं ।

नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने समाचारहरू भ्रामक र आधारहीन भएको जनाएको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममार्फत भारतीय पर्यटकका लागि नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, बसाइ अवधि ३० दिनमा सीमित गरिएको तथा समय नाघेमा सवारीसाधन जफत गरिने जस्ता विवरण सत्य नभएको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधि सम्बन्धी कुनै नयाँ प्रतिबन्ध नलगाएको र नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्थामा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ । बोर्डका अनुसार नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, सांस्कृतिक निकटता तथा पर्यटन सहकार्य यथावत् रहेको छ ।

हालै नेपाल सरकारले स्थलमार्ग हुँदै निजी सवारीसाधनमार्फत नेपाल आउने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली सुरु गरेको बोर्डले जनाएको छ । भन्सार विभागद्वारा विकास गरिएको उक्त डिजिटल प्रणालीमार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।

यसले सीमा नाकामा हुने झन्झट कम गरी पर्यटकलाई थप सहज सेवा प्रदान गर्ने विश्वास बोर्डले व्यक्त गरेको छ । पर्यटन बोर्डले सञ्चारमाध्यम, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना प्रसारण नगर्न आग्रह गर्दै यात्रा तथा पर्यटनसम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतलाई मात्रै आधार बनाउन अनुरोध गरेको छ ।

नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल–भारतबीचको सहज आवतजावत र मित्रवत् सम्बन्ध प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्