Skip to content

चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय खोल्ने संकेत, ट्रम्प र सीको सकारात्मक सन्देश

काठमाण्डौं ।

चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको द्विपक्षीय भेटवार्तामा दुवै नेताले सम्बन्ध सुधार र सहकार्यलाई प्राथमिकता दिएका छन् । भेटअघि गरिएको प्रारम्भिक सम्बोधनमा ट्रम्पले सी जिनपिङसँगको सम्बन्धलाई “विशेष” भन्दै उनीसँग भेट गर्न पाउनु सम्मानको विषय भएको बताए ।

उनले विगतमा दुई देशबीच समस्या आउँदा दुवै नेताले प्रत्यक्ष संवादमार्फत समाधान खोज्ने गरेको उल्लेख गरे । “हाम्रो सम्बन्ध राम्रो छ । समस्या आउँदा हामी फोनमार्फत तुरुन्त समाधान खोज्थ्यौं,” ट्रम्पले भने, “म सबैलाई भन्छु, तपाईं एक महान नेता हुनुहुन्छ ।” ट्रम्पले आफ्नो भ्रमण टोलीमा विश्वका प्रमुख व्यापारिक व्यक्तिहरू सहभागी रहेको उल्लेख गर्दै अमेरिका–चीन सम्बन्ध अझ राम्रो बन्ने विश्वास व्यक्त गरे ।

यता, सी जिनपिङले चीन र अमेरिका प्रतिद्वन्द्वीभन्दा साझेदार बन्नुपर्ने धारणा राखे । उनले दुवै देशले एकअर्काको विकास र समृद्धिमा योगदान गर्नुपर्ने बताए । सीले “नयाँ युगमा प्रमुख राष्ट्रहरूबीचको सहकार्यको सही मार्ग खोज्नुपर्ने” आवश्यकता औंल्याउँदै २०२६ लाई चीन–अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु हुने ऐतिहासिक वर्ष बनाउन चाहेको बताए ।

उनले विश्व अहिले तीव्र परिवर्तन र अस्थिरताको चरणमा रहेको उल्लेख गर्दै चीन र अमेरिकाले संयुक्त रूपमा विश्वव्यापी चुनौतीहरूको सामना गर्नुपर्ने धारणा राखे । सीले थपे, “विश्वले हाम्रो बैठकलाई नजिकबाट हेरिरहेको छ । अब प्रश्न यो हो कि चीन र अमेरिका नयाँ प्रकारको सम्बन्ध निर्माण गर्दै विश्वलाई स्थिरता दिन सक्छन् कि सक्दैनन् ।”

प्रतिक्रिया दिनुहोस्