काठमाडौं आकृति सुनार ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुशासन, डिजिटल सेवा विस्तार, रोजगारी सिर्जना र आर्थिक सुधारलाई प्राथमिकतामा राखेको छ।
संघीय संसद्को बजेट अधिवेशनअन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रशासनिक सुधार र प्रविधिमैत्री शासन प्रणालीलाई मुख्य आधार बनाइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको ‘१०० दिनमा १०० कार्यसूची’ लाई आधार मानेर दीर्घकालीन सुधारका योजना अघि बढाइएको जनाइएको छ। सरकारले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्यसहित यातायात, स्वास्थ्य, शिक्षा तथा श्रम क्षेत्रका सेवामा सुधार गर्ने नीति लिएको छ।
सरकारी कर्मचारीको कार्यसम्पादनलाई नतिजामुखी बनाइने तथा भ्रष्टाचार नियन्त्रणलाई कडाइका साथ लागू गरिने कार्यक्रममा उल्लेख छ। सम्पत्ति छानबिन आयोग गठन तथा सार्वजनिक खरिद प्रक्रियामा सुधार गरेर राज्य संयन्त्रलाई पारदर्शी बनाउने लक्ष्य सरकारको छ।
आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य बढाउने र वैदेशिक लगानी आकर्षित गर्ने रणनीति पनि सरकारले अघि सारेको छ। व्यवसाय दर्ता, कर भुक्तानीलगायतका प्रक्रियालाई डिजिटल प्रणालीमार्फत सहज बनाइने बताइएको छ।
त्यस्तै, आगामी दशकमा औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित ‘लगानी भिषा’ कार्यक्रम लागू गर्ने योजना सरकारले ल्याएको छ।
रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सरकारले २०८३ देखि २०९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ। स्वदेशमै रोजगारी सिर्जना गर्न रिमोट वर्क, सीपमूलक तालिम तथा ‘कमाइँदै सिक्दै’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने तथा विद्यालय तहदेखि नै एआई र आधुनिक प्रविधिको अध्ययन सुरु गर्ने नीति पनि कार्यक्रममा समावेश गरिएको छ। साथै ‘देवभूमि नेपाल’ अभियानमार्फत धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
विदेशमा रहेका नेपालीको सीप, अनुभव र लगानीलाई स्वदेशमा उपयोग गर्न ‘ज्ञान बैंक’ स्थापना गर्ने तथा विशेष प्रोत्साहन प्याकेज ल्याउने योजना सरकारले अघि सारेको छ।
समग्रमा, सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले प्रशासनिक सुधार, आर्थिक विकास र डिजिटल नेपालको अवधारणालाई सँगसँगै अघि बढाउने संकेत गरेको विश्लेषण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्