काठमाण्डौं ।
नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झन् तीव्र बन्दै जाँदा पार्टी औपचारिक विभाजनको जोखिमतर्फ उन्मुख भएको संकेत देखिएको छ। १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र असन्तुष्ट पक्षबीचको अविश्वासले समानान्तर महाधिवेशनको सम्भावना समेत बढाएको छ। संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाइरहेको छ। तर निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले आफूहरूलाई सम्मानजनक भूमिका नदिइए प्रक्रिया स्वीकार नगर्ने चेतावनी दिएको छ।
विवादको केन्द्रमा विशेष महाधिवेशनपछि बनेको गगन थापा नेतृत्वको कार्यसमिति रहेको छ। सर्वोच्च अदालतले उक्त समितिलाई वैधानिकता दिए पनि देउवा पक्षका केही प्रभावशाली नेताहरू अझै असन्तुष्ट छन्। पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायत नेताहरूले वर्तमान संरचनामाथि प्रश्न उठाउँदै छुट्टै रणनीतिमा अघि बढ्ने संकेत दिएका छन्।
यसबीच संस्थापन पक्षले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा ‘जरा अभियान’ सञ्चालन गर्दै डिजिटल माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिकलाई तीव्र बनाएको छ। तर असन्तुष्ट समूहले भने अभियान बहिष्कार गर्दै आफ्नै ढंगले कार्यकर्ता परिचालन सुरु गरेको छ। स्रोतका अनुसार असन्तुष्ट पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेको छ। त्यसका लागि विभिन्न नेताहरूलाई जिम्मेवारीसमेत बाँडफाँट गरिएको बताइएको छ।
विवाद समाधानका लागि सभापति गगन थापाले पूर्णबहादुर खड्का र डा। शेखर कोइरालासँग पटक–पटक छलफल गरे पनि ठोस सहमति जुट्न सकेको छैन। संस्थापन पक्षले ६१ जनासम्म सदस्य मनोनयन गरी असन्तुष्ट पक्षलाई समेट्ने संकेत दिएको भए पनि विपक्षी समूहले भने वर्तमान कार्यसमिति विघटन गरेर चुनावी आयोजक समिति बनाउनुपर्ने अडान राखेको छ।
यता शक्ति प्रदर्शनको राजनीति पनि सुरु भएको छ। सुदूरपश्चिममा आयोजित कार्यक्रममा देउवा निकट मानिएका मुख्यमन्त्री कमलबहादुर शाहले गगन थापालाई स्वागत गरे पनि प्रदेश नेतृत्वको चासो न्यून देखिएको थियो। विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनपछिको निर्वाचनमा भएको पराजय र ठूलो संख्यामा कार्यकर्ता निष्क्रिय बनेपछि कांग्रेसभित्र असन्तोष झन् बढेको हो। यही अवस्था कायम रहे १५औँ महाधिवेशनअघि नै पार्टी दुई धारमा विभाजित हुन सक्ने खतरा बढ्दै गएको नेताहरूको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस्