Skip to content

संसद्का सचिव हर्कराज राई संकटमा: स्पष्टीकरणपछि पदमुक्त गर्ने तयारी

काठमाडाैं।

संघीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका सचिव हर्कराज राईलाई पदबाट हटाउने प्रक्रिया अगाडि बढाएका छन्। कार्यसम्पादनमा प्रश्न उठाउँदै सभामुखले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि राईलाई हटाउने तयारी गरिएको हो। सभामुख निकट स्रोतका अनुसार सचिव राईले सोमबार स्पष्टीकरणको लिखित जवाफ बुझाएका थिए। संसद्को बैठकमा सांसदहरूलाई बोल्नका लागि समय उपलब्ध गराउँदा पक्षपात गरेको, कसैलाई कम र कसैलाई बढी समय दिएको तथा पदीय जिम्मेवारी अनुसारको तटस्थता कायम नगरेको विषयमा सभामुखले यथार्थ विवरण माग गरेका थिए।

प्राप्त जवाफमा सभामुखले चित्त नबुझाएको र राईको कार्यशैलीले संसदीय मर्यादामा असर पुगेको निष्कर्ष निकाल्दै अब उनलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ। हर्कराज राईलाई २०८१ पुस १६ गते तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा नियुक्त गरिएको थियो। नेपालको संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को सचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार नियुक्त भएका राईको कार्यकाल नसकिँदै कार्यसम्पादनको विषयलाई लिएर वर्तमान सभामुखले असन्तुष्टि व्यक्त गरेका हुन्।

सभामुख अर्यालले अब छिट्टै राईलाई हटाएर रिक्त हुने स्थानमा नयाँ सचिव नियुक्तिको प्रक्रिया सुरु गर्ने तयारी गरेका छन्। संसद् सचिवालयको प्रशासनिक नेतृत्वमा देखिएको यो खिचातानीले संसदीय कार्यसञ्चालनमा समेत प्रभाव पार्न सक्ने देखिएको छ। सभामुखले नयाँ नियुक्ति र वर्तमान गतिरोध अन्त्यका लागि आवश्यक कानुनी परामर्श समेत गरिरहेकाे बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्