Skip to content

कांग्रेसमा शक्ति सन्तुलन फेरबदल ः सिटौलाको स्थानमा कमला पन्त राष्ट्रिय सभा दलको नेता

काठमाडौं उमा आले।

नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण फेरबदल देखिएको छ। राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनित भएसँगै पार्टीभित्र नयाँ समीकरणको संकेत देखिएको हो।

प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी विधानअनुसारको अधिकार प्रयोग गर्दै पन्तलाई उक्त जिम्मेवारी दिएका हुन्। यसअघि सो पदमा प्रभावशाली नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यरत थिए।

सिटौलालाई जिम्मेवारीबाट हटाएर पन्तलाई अघि सारिएपछि कांग्रेसभित्र गुटगत समीकरण र आगामी राजनीतिक रणनीतिबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

कांग्रेस विधानअनुसार प्रतिनिधि सभा संसदीय दलका नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने अधिकार रहने व्यवस्था छ। सोही प्रावधानअनुसार पन्तलाई नयाँ नेतृत्वमा ल्याइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

निवर्तमान नेता सिटौला सभापति शेरबहादुर देउवा निकट मानिन्थे भने पन्तलाई गगन थापा निकट नेतृका रूपमा चिनिन्छ। पार्टीभित्र वैचारिक र सांगठनिक सुधारका पक्षमा उभिँदै आएकी पन्तको नियुक्तिलाई संस्थापन इतर पक्षको बढ्दो प्रभावका रूपमा पनि विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्