Skip to content

भाडा वृद्धि ः यात्रुको ढाड सेकिँदै, महँगी थप चर्किने संकेत

काठमाडौं उमा आले ।

देशभर अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा फेरि बढेपछि यात्रु र सर्वसाधारणको दैनिक खर्चमा थप भार पर्ने भएको छ। यातायात व्यवस्था विभागले डिजेलको मूल्य वृद्धिलाई कारण देखाउँदै नयाँ भाडादर लागू गरेसँगै लामो दूरीका यात्रु प्रत्यक्ष प्रभावित हुने भएका छन्।

नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारीको भाडा ५.३ प्रतिशतले बढाइएको छ भने मालवाहक सवारीमा अझ बढी वृद्धि गरिएको छ। यसले बजारमा उपभोग्य वस्तुको ढुवानी खर्च बढाउने भएकाले समग्र मूल्यवृद्धि (महँगी) थप चर्किने संकेत देखिएको छ।

विशेषगरी पहाडी र दुर्गम क्षेत्रका बासिन्दाले यसको बढी असर महसुस गर्नेछन्, जहाँ ढुवानी लागत नै पहिले देखि उच्च रहँदै आएको छ। तराई क्षेत्रमा समेत मालवाहक भाडा ९।१ प्रतिशतसम्म बढाइएकाले खाद्यान्न, निर्माण सामग्री लगायतका वस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने अनुमान गरिएको छ।

यद्यपि, विद्युतीय सवारी साधनमा भाडा नबढाइएकाले सरकारले वैकल्पिक ऊर्जातर्फ प्रोत्साहन दिन खोजेको संकेत देखिएको छ। तर, विद्युतीय सवारीको पहुँच अझै सीमित भएकाले तत्काल राहत भने आम यात्रुले महसुस गर्न सक्ने अवस्था छैन।

विश्लेषकहरूका अनुसार इन्धनमा निर्भर यातायात प्रणाली कायम रहँदासम्म यस्ता भाडा वृद्धि दोहोरिने सम्भावना उच्च छ। त्यसैले दीर्घकालीन समाधानका लागि विद्युतीय तथा वैकल्पिक यातायात प्रणाली विस्तारमा जोड दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्