काठमाडौं उमा आले।
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू भए पनि यसपटक भर्ना प्रक्रिया विवाद र अन्योलबीच अघि बढेको छ। संघीय सरकारको निर्णय अनुसार मंगलबारदेखि मात्रै भर्ना प्रक्रिया शुरू गर्ने र वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने भनिएको छ। तर काठमाडौँ उपत्यकाका स्थानीय तहहरूले भने यस निर्णयलाई अस्वीकार गर्दै वैशाख ११ गतेदेखि नै भर्ना अभियान शुरू गरिसकेका छन्।
यसले गर्दा एउटै देशभित्र फरक–फरक मितिमा भर्ना र कक्षा सञ्चालन हुन थालेको छ। केही विद्यालयहरूमा कक्षा सञ्चालन समेत शुरू भइसकेको छ भने अन्य विद्यालयहरू सरकारी निर्देशन पर्खिरहेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। तर स्थानीय तहहरूको आफ्नै निर्णयले अभिभावक र विद्यार्थीहरू अन्योलमा परेका छन्।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले सरकार र स्थानीय तहबीच समन्वयको अभावले दीर्घकालीन असर पर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार स्पष्ट नीति र एकरूपता नहुँदा शिक्षण प्रणाली नै प्रभावित हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्