काठमाडौं उमा आले
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा पहिलो पटक आयोजना गरिएको महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत आज नेपाल र अमेरिका पुनः आमनेसामने हुँदैछन्। रुवान्डामा हुने यो खेल नेपाली समयअनुसार साँझ ४ः४५ बजे सुरु हुनेछ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आजको खेलमा बदला लिने योजनासहित मैदानमा उत्रिने तयारीमा छ। त्यसपछि नेपालले लगातार सुधारिएको प्रदर्शन गर्दै इटाली र घरेलु टोली रुवान्डालाई हराएको थियो, तर चौथो खेलमा भने भानुआतुसँग हार व्यहोर्नुपरेको थियो।
प्रतियोगितामा सहभागी पाँच टोली—रुवान्डा, नेपाल, अमेरिका, इटाली र भानुआतु—बीच डबल राउण्ड रोबिन ढाँचामा प्रतिस्पर्धा भइरहेको छ। सबै टोलीले एक–अर्कासँग दुई–दुई पटक खेल्नेछन्, र अन्तिम अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ, किनकि शीर्ष स्थानको दौडमा रहिरहन अमेरिकाविरुद्ध जित आवश्यक छ।
प्रतिक्रिया दिनुहोस्