काठमाण्डौँ उमा आले।
मनोहरा खोलाको किनारमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौं सुकुमवासी परिवार अहिले घरबारविहीन हुने त्रासमा छन्। अनधिकृत संरचना भन्दै आज बिहानदेखि सुरक्षाकर्मीको ठूलो उपस्थितिमा बस्ती खाली गराएर घरटहरा भत्काउन सुरु भएपछि स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको हो।
बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेराबन्दीबीच डोजर प्रयोग गरेर घर भत्काइँदा धेरै परिवार आफ्ना सामान बोकेर अन्यत्र आश्रय खोज्न बाध्य भएका छन्। केहीले आफैं घर भत्काए पनि धेरैका लागि यो निर्णय बाध्यता बनेको देखिन्छ।
स्थानीयहरूका अनुसार बस्तीमा बस्दै आएका अधिकांश परिवार दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने भएकाले वैकल्पिक बसोबासको व्यवस्था नभएको अवस्थामा उनीहरू थप संकटमा पर्ने सम्भावना छ। यसअघि प्रशासनले बिहान ९ बजेसम्म घर खाली गर्न समय दिएको थियो। समयसीमा सकिएलगत्तै महानगरपालिकाको टोली डोजरसहित आएर संरचना हटाउन थालेको हो।
यो बस्तीमा करिब ७७७ घरटहरा रहेको बताइन्छ। शनिबार बेलुका पनि केही पक्की घर भत्काउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको थियो, जसमा केही सुरक्षाकर्मी घाइते समेत भएका थिए।
यता अधिकारकर्मीहरूले भने दीर्घकालीन समाधानबिना गरिएको यस्तो कदमले सुकुमवासीको मानव अधिकारमाथि प्रश्न उठाएको बताएका छन्। उनीहरूले पुनर्स्थापना र वैकल्पिक आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्