Skip to content

अन्तर्राष्ट्रिय उडानको तयारीमा सुस्मिता ः भारतको रिङ हुँदै थाइल्याण्डसम्म लक्ष्य

पोखरा उमा आले ।

गण्डकी प्रदेशकी प्रतिभाशाली फाइटर सुस्मिता अहिले आफ्नो करियरको महत्वपूर्ण मोडमा उभिएकी छन्। मुआथाइमा अपराजित यात्रा बनाएकी उनी अब भारतमा हुने प्रोफेसनल के–वान फाइटमार्फत नयाँ चुनौती सामना गर्न तयार छिन्।

भारतको गुजरातमा आयोजना हुने “रोनिन फाइट च्याम्पियनसिप”मा सुस्मिताले मे ९ मा भारतीय खेलाडी आरती खत्रीसँग प्रतिस्पर्धा गर्नेछिन्। यो फाइट सुस्मिताका लागि केवल अर्को खेल मात्र होइन, व्यवसायिक खेल जीवनतर्फको निर्णायक पाइला बन्ने अपेक्षा गरिएको छ।

के–वान फाइटको नियम र संरचना मुआथाइभन्दा केही फरक हुने भएकाले सुस्मिताका लागि यो अनुभव नयाँ हुनेछ। विशेष गरी चार औंला मात्र ढाक्ने ग्लब्स ९पन्जा० प्रयोग हुने र ५ मिनेटका ३ राउन्डमा प्रतिस्पर्धा हुने भएकाले खेलको गति र रणनीति दुवै फरक हुनेछ। उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीका अनुसार, यही अनुभवले सुस्मितालाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा अझ मजबुत बनाउनेछ।

सुस्मिताको लक्ष्य केवल भारतमा सीमित छैन। उनको दीर्घकालीन लक्ष्य मुआथाइको केन्द्र मानिने थाइल्याण्डमा आफ्नो पहिचान बनाउनु हो। तर आर्थिक अभावका कारण चीन, जापान र मलेसियाबाट आएको निम्तो समेत उनी उपयोग गर्न नसकेको तथ्यले नेपाली खेलाडीहरूले भोग्ने चुनौतीलाई उजागर गर्छ।

यसअघि नै श्रीलंका, भारत र नेपालमा आफ्नो क्षमता देखाइसकेकी सुस्मिता हालसम्म मुआथाइमा अपराजित छिन्। यही प्रदर्शनलाई निरन्तरता दिन सके उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने सम्भावना प्रबल देखिन्छ।

अब प्रश्न केवल उनको प्रतिभाको छैन, अवसर र सहयोगको पनि हो। आवश्यक आर्थिक तथा संस्थागत साथ पाउन सके सुस्मिताले विश्व मञ्चमा ठूलो सफलता हासिल गर्न सक्ने स्पष्ट संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्