पोखरा- उमा आले
गण्डकी प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टलाई बुझाएका हुन्।
संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आफ्नो सातौं वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि आयोगको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
उहाँले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायबीच सहअस्तित्व र सद्भाव कायम गर्न यस्ता आयोगहरूको भूमिका अझै महत्वपूर्ण हुने बताए। साथै प्रतिवेदनमा समेटिएका विषयहरू प्रदेशसभा मार्फत छलफलका लागि प्रस्तुत गरिने जानकारी पनि दिए।
कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी दिँदै स्रोत, साधन, बजेट र अधिकार अभावका कारण काम गर्न कठिनाइ भएको गुनासो गरे।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्