पाेखरा – काशी राम सुनार
पोखरा, २४ चैत्र २०८२ — पोखरा महानगरपालिका–२६, बुढीबजारस्थित इन्द्र ज्योति पेट्रोल पम्प नजिक आज अपराह्न करिब ४:३० बजे ग्यास बोकेको ट्रक, स्कुटर र डिस्कभर मोटरसाइकलबीच दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
प्रत्यक्षदर्शी आशिष कुँवरका अनुसार, पोखराबाट तालचोकतर्फ जाँदै गरेको ग्यास सिलिन्डर बोकेको ट्रकसँग स्कुटर र मोटरसाइकल एकैपटक जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटरमा सवार एक महिला र एक पुरुष घाइते भएका छन्। उनीहरूलाई स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।
दुर्घटनामा संलग्न स्कुटरको नम्बर प्लेट “ग १६ प ७८००” रहेको देखिएको छ भने मोटरसाइकल चालक भने सकुशल रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। स्कुटरमा भने उल्लेखनीय क्षति पुगेको छ।
प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
हाल निर्माणको अन्तिम चरणमा रहेको पोखरा–मुग्लिङ ४ लेन सडकखण्डले यातायातलाई सहज बनाएको भए पनि सवारी साधनको गति अत्यधिक बढेको छ, जसका कारण दुर्घटनाको जोखिम पनि समानुपातिक रूपमा बढ्दै गएको देखिन्छ। स्थानीयवासीले सडक निर्माण कम्पनीप्रति गम्भीर प्रश्न उठाउँदै आवश्यक ट्राफिक संकेत (sign boards) पर्याप्त रूपमा नराखिएको, जोखिमयुक्त स्थानमा चेतावनी चिन्हको अभाव रहेको तथा पैदल यात्रुका लागि आकाशे पुल (overhead bridge) जस्ता संरचना निर्माण नगरिएको बताएका छन्। यी कारणले सवारी साधन मात्र होइन, पैदल यात्रु समेत उच्च जोखिममा परेको स्थानीयको गुनासो छ।
सडक पूर्वाधार विस्तारसँगै सुरक्षाका मापदण्डहरू कडाइका साथ लागू नगर्दा यस्ता दुर्घटना बढ्दै जानु स्वाभाविक देखिन्छ। सडक केवल चौडा हुनु पर्याप्त होइन, सुरक्षित पनि हुनुपर्छ। सम्बन्धित निकायले तत्काल ट्राफिक व्यवस्थापन, संकेत प्रणाली सुदृढीकरण तथा पैदलमैत्री संरचना निर्माणतर्फ ध्यान दिनुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्