पोखरा – काशी राम सुनार
विश्वभर फैलिएका नेपालीहरूको साझा संस्थागैर आवासिय नेपाली संघ (एनआरएनए) अहिले संगठनात्मक पुनर्संरचना, संस्थागत एकता र लोकतान्त्रिक प्रक्रियालाई पुनर्जीवित गर्ने ऐतिहासिक मोडमा उभिएको देखिन्छ। प्रवासी नेपालीहरूको साझा संस्थाको रूपमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहेको एनआरएनए पछिल्ला वर्षहरूमा देखिएको आन्तरिक विवाद र विभाजनपछि पुनःएकताको दिशातर्फ अघि बढिरहेको विश्लेषण गरिएको छ।
यही सन्दर्भमा बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको १३औँ बैठक २०८२ साल फागुन २८ गते (तदनुसार १२ मार्च २०२६) सम्पन्न भएको हो। बैठकले आगामी अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन प्रक्रियालाई अगाडि बढाउने विषयमा महत्वपूर्ण निर्णय गर्दै विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखी निर्वाचन प्रक्रियामा आवश्यक लचकता अपनाउने निर्णय गरेको जनाएको छ।
मध्यपूर्व संकट र संस्थागत लचकता
बैठकमा मध्यपूर्व क्षेत्रमा उत्पन्न पछिल्लो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। एनआरएनएमा ठूलो संख्यामा मध्यपूर्व क्षेत्रमा कार्यरत नेपालीहरू आबद्ध रहेका कारण त्यहाँको अवस्था संगठनात्मक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने विषय भएको विश्लेषण गरिन्छ।
महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन चाहने धेरै अभियन्ता, राष्ट्रिय समन्वय परिषद तथा उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्थगन गर्नुपर्ने विषयमा लिखित अनुरोध गरेपछि स्टेरिङ कमिटीले प्रतिनिधिहरूको सहभागितालाई सुनिश्चित गर्ने उपायका रूपमा निर्वाचन प्रक्रियामा लचकता अपनाउने निर्णय गरेको हो।निर्णयअनुसार मध्यपूर्व क्षेत्रमा रहेका उम्मेदवार तथा प्रतिनिधिहरूले उम्मेदवारी दर्ता, सनाखत तथा सपथ ग्रहण जस्ता प्रक्रियाहरू भर्चुअल माध्यमबाट गर्न सक्ने व्यवस्था गरिने बताइएको छ। विश्लेषकहरूका अनुसार यो निर्णय प्रवासी संस्थाहरूमा लोकतान्त्रिक सहभागिता सुनिश्चित गर्ने सन्दर्भमा व्यावहारिक र समावेशी दृष्टिकोणको उदाहरण मानिन्छ।
प्रवासी कूटनीतिमा एनआरएनएको भूमिका
सन् २००३ मा स्थापना भएकोगैर आवासिय नेपाली संघ आज विश्वका दर्जनौँ देशमा फैलिएको नेपाली समुदायको संस्थागत सञ्जाल बनेको छ। यसको मूल उद्देश्य प्रवासी नेपालीहरूबीच एकता, मातृभूमिसँगको सम्बन्ध सुदृढीकरण तथा नेपालको आर्थिक–सामाजिक विकासमा योगदान पुर्याउनु रहेको छ।
यस अवधिमा एनआरएनएले विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। विशेषगरी २०७२ सालको भूकम्प पछि पुनर्निर्माण अभियानमा संस्थाले उल्लेखनीय भूमिका खेलेको थियो। विद्यालय पुनर्निर्माण, स्वास्थ्य सेवा विस्तार, छात्रवृत्ति कार्यक्रम तथा विपद् राहत अभियानहरूमा एनआरएनएको सक्रिय सहभागिता देखिएको छ। यसका अतिरिक्त प्रवासी नेपालीहरूको पूँजी, ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने उद्देश्यले लगानी प्रवर्द्धन, उद्यमशीलता विकास र आर्थिक सहकार्यका विभिन्न पहलहरू पनि अघि बढाइएको छ। नीतिगत रूपमा पनि एनआरएनएलाई प्रवासी कूटनीति (Diaspora Diplomacy) को एउटा प्रभावशाली माध्यमका रूपमा हेर्ने गरिएको छ।
नेतृत्वको पृष्ठभूमि र भूमिका
एनआरएनएभित्र देखिएको विभाजनलाई अन्त्य गर्दै पुनःएकताको वातावरण निर्माण गर्ने प्रयासमा हालका अध्यक्षहरू डा. बद्री केसी र महेश कुमार श्रेष्ठ
को भूमिका महत्वपूर्ण रहेको विश्लेषकहरू बताउँछन्। डा. बद्री केसी पेशाले बायोटेक्नोलोजिस्ट तथा उद्यमी हुन्। लामो समयदेखि विदेशमा बसोबास गर्दै आएका उहाँले प्रवासी नेपाली समुदायलाई संगठित गर्ने तथा नेपालमा लगानी प्रवर्द्धन गर्ने विषयमा सक्रिय भूमिका खेलेको मानिन्छ। त्यसैगरी महेश कुमार श्रेष्ठ पनि प्रवासी नेपाली समुदायभित्र लामो समयदेखि सक्रिय रहँदै आएका नेतृत्वमध्ये एक मानिन्छन्। संगठनभित्र संवाद, सहमति र संस्थागत प्रक्रियालाई प्राथमिकता दिँदै एनआरएनएको संरचनागत स्थिरता कायम गर्ने प्रयासमा उहाँको भूमिका पनि उल्लेखनीय रहेको बताइन्छ।
विश्लेषकहरूका अनुसार प्रवासी संस्थाहरूमा देखिने नेतृत्व विवाद र संरचनात्मक चुनौतीहरू समाधान गर्न संवाद र सहमतिमा आधारित नेतृत्व शैली अत्यन्त महत्वपूर्ण हुन्छ। यस दृष्टिले हालको नेतृत्वले संगठनलाई पुनःएकतामा ल्याउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।

महाधिवेशनको रणनीतिक महत्व
एनआरएनएको अन्तर्राष्ट्रिय महाधिवेशन विश्वभरका प्रवासी नेपालीहरूको सहभागितासहित हुने सबैभन्दा ठूलो संस्थागत कार्यक्रम हो। यस मञ्चमार्फत नेपालमा लगानी, प्रवासी अधिकार, ज्ञान तथा सीप हस्तान्तरण, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहकार्यका विषयहरूमा महत्वपूर्ण छलफल हुने गर्दछ।
यसै कारण आगामी महाधिवेशनलाई संगठनको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।संगठनभित्र विगतमा देखिएका विवाद र चुनौतीहरूबीच पनि नेतृत्वले अघि बढाएको एकता, सहमति र संस्थागत प्रक्रियाले गैर आवासिय नेपाली संघ लाई पुनःस्थापित गर्दै विश्वभरका नेपालीहरूको साझा संस्थाको रूपमा अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्