Skip to content

पोखरामा विश्वकर्मा समुदायका युवक र नेवारी युवतीको वैवाहिक बन्धन, सामाजिक सद्भावको सन्देश

संवाददाता : काशी राम सुनार
पोखरा —
नेपाली समाजमा अझै गहिरो रूपमा जरा गाडेर बसेको जातीय विभेद र छुवाछुतसम्बन्धी मानसिकतालाई व्यवहारिक रूपमा चुनौती दिँदै पोखरामा सम्पन्न एक अन्तरजातीय विवाहले सामाजिक रूपान्तरणको बहसलाई नयाँ उचाइ दिएको छ।
पोखरा–१२ गण्डकी हस्पिटल नजिक, हस्पिटल चोक निवासी २३ वर्षीय अनमोल सुनार र काभ्रे जिल्ला पनौती–कुषादेवीकी २१ वर्षीया सरु नकर्मी (श्रेष्ठ) मिति २०८२ साल माघ २७ गते हिन्दू धर्मका परम्परागत वैदिक संस्कारअनुसार वैवाहिक जीवनमा आबद्ध भएका हुन्।
पोखरा–७ शान्तिनगरस्थित शान्तिनगर पार्टी प्लेसमा सम्पन्न उक्त विवाहको विशेष पक्ष भनेको नेवारी समुदायले आफ्नी छोरीलाई दलित समुदायका युवकसँग विवाह गर्न सामाजिक रूपमा स्वीकार गर्नु मात्र नभई, परिवारका सबै सदस्यहरूको सक्रिय उपस्थितिमा टिका–टालो र सम्पूर्ण धार्मिक विधिअनुसार संस्कार सम्पन्न गरिनु हो। सहभागीहरूले यसलाई सामाजिक समानता, मानवअधिकार तथा संवैधानिक मूल्यमान्यताको व्यवहारिक कार्यान्वयनका रूपमा व्याख्या गरेका छन्।

दुवै परिवारको सहमति र सहभागितामा सम्पन्न विवाह

 

विवाह समारोहमा दुलाहा अनमोल सुनारका बुबा हिता सुनार र आमा अम्बिका सुनार, तथा बेहुली सरु नकर्मीका बुबा सुरज नकर्मी, आमा रूप नकर्मी, काका सतिश नकर्मी, काकी अमृता नकर्मी, दिदी नगिना थापा, ठूली आमा सशि थापा र बहिनीहरू अदिति, शाहिरा थापा, अञ्जली थापा र सोनी थापासहित दुवै पक्षका आफन्तजनको पूर्ण सहमति र उपस्थितिमा विवाह सम्पन्न भएको हो।
एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका अनमोल र सरुले जातीय पहिचानभन्दा माथि उठेर आपसी समझदारी, सम्मान र विश्वासका आधारमा जीवनयात्रा अघि बढाउने निर्णय गरेका हुन्। दुवै परिवारको सहमति र आशीर्वादले समारोहलाई सामाजिक सन्देशयुक्त र प्रेरणादायी बनाएको सहभागीहरूको भनाइ छ।

बाक्लो उपस्थिति

विवाह उत्सवमा दुवै पक्षका आफन्त, शुभचिन्तक तथा समाजका प्रतिनिधिहरू गरी १८० जना भन्दा बढीको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले नवविवाहित जोडीलाई शुभकामना व्यक्त गर्दै पारस्परिक शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेका थिए। समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।

‘जात होइन, मान्छे ठूलो’ भन्ने मूल्यको व्यवहारिक सन्देश

विवाहमा सहभागी सामाजिक अभियन्ता र बुद्धिजीवीहरूले यस्तो कदमले ‘जात होइन, मान्छे ठूलो’ भन्ने मानवीय मूल्यलाई व्यवहारमा रूपान्तरण गरेको बताएका छन्। एक सहभागीका अनुसार, “कानुनी रूपमा अन्तरजातीय विवाह मान्य भए पनि सामाजिक स्वीकृति अझै चुनौतीपूर्ण विषय हो। यस्तो उदाहरणले समाजमा सकारात्मक सोच र समानताको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ।
नेपालको संविधानले सबै नागरिकलाई समानताको हक सुनिश्चित गरे पनि व्यवहारिक तहमा जातीय विभेदका घटना समय–समयमा देखिँदै आएका छन्। यस्तो अवस्थामा दुवै परिवारले देखाएको परिपक्वता, सहिष्णुता र सामाजिक जिम्मेवारीलाई परिवर्तनमुखी समाज निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

नयाँ पुस्ताको सोचले संकेत गरेको सामाजिक दिशा

अनमोल–सरुको विवाहले नयाँ पुस्ता जातीय सीमाभन्दा माथि उठेर सम्बन्धलाई मानवताको दृष्टिकोणबाट हेर्न थालेको स्पष्ट संकेत गरेको छ। यसले अन्तरजातीय विवाहलाई सामाजिक अभ्यासका रूपमा स्वाभाविक र स्वीकार्य बनाउने वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो विवाह केवल दुई व्यक्तिको जीवनको नयाँ अध्याय मात्र नभई, समानता, सहअस्तित्व र पारस्परिक सम्मानमा आधारित समाज निर्माणतर्फको सशक्त सन्देशका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस्