Skip to content

रास्वपा गण्डकी अधिवेशन ः नेतृत्वको खोजी कि वैचारिक परीक्षाको घडी ?

रघुनाथ वाग्ले
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो राजनीतिक यात्राको पहिलो ठूलो सांगठनिक मोडमा उभिएको छ। पहिलो राष्ट्रिय महाधिवेशनको तयारीसँगै देशभर संगठन निर्माणको अभियान चलाइरहेको पार्टीका लागि पोखरामा हुन लागेको गण्डकी प्रदेशको प्रथम अधिवेशन सामान्य कार्यक्रम होइन । यो अधिवेशनले रास्वपाले बोकेको वैकल्पिक राजनीतिको दाबी व्यवहारमा कति स्थापित भएको छ भन्ने परीक्षण गर्नेछ ।

गण्डकीका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भए पनि केही जिल्लामा सर्वसम्मतिका नाममा सीमित समूहको प्रभाव बढाउन खोजिएको भन्दै विवाद देखिएको छ। यसले पार्टीभित्र असन्तुष्टि र शक्ति–संघर्षको संकेत दिएको छ। करिब पाँच सय प्रतिनिधि सहभागी हुने प्रदेश अधिवेशनले अब नेतृत्व मात्र होइन, संगठनको आगामी दिशा पनि तय गर्नेछ।

सभापतिको दौडमा राजन गौतम, नवीन त्रिपाठी, हरि कार्की र कुमार खड्का चर्चामा छन्। यी चारै पात्रको पृष्ठभूमि फरक छ र उनीहरूसँग जोडिएका प्रश्न पनि फरक छन्।

वर्तमान सभापति तथा सांसद राजन गौतम पुनः नेतृत्वमा आउने तयारीमा छन्। तर पार्टीले सांसदहरूलाई संगठनभन्दा नीति र संसदीय भूमिकामा केन्द्रित हुन निर्देशन दिइसकेको अवस्थामा उनको दाबेदारी स्वाभाविक रूपमा प्रश्नको घेरामा छ। संगठन र संसद् दुवैतर्फ समान रूपमा न्याय गर्न सकिने कि नसकिने भन्ने प्रश्न प्रतिनिधिहरूले विचार गर्नुपर्ने विषय हो।

महामन्त्री नवीन त्रिपाठी संगठन निर्माणमा सक्रिय र कार्यकर्तामाझ स्वीकार्य अनुहारका रूपमा चिनिन्छन्। निर्वाचन र संगठन विस्तारमा देखिएको उनको सक्रियताले उनलाई बलियो प्रतिस्पर्धी बनाएको छ। संगठनलाई प्राथमिकता दिनुपर्ने पक्षधरहरूका लागि उनी स्वाभाविक विकल्प हुन सक्छन्।

तर सबैभन्दा धेरै बहस हरि कार्की र कुमार खड्काको उम्मेदवारीले निम्त्याएको छ।

हरि कार्कीले वैकल्पिक राजनीतिको कुरा गर्छन्, तर उनको विगतको राजनीतिक सहयात्रा प्रश्नरहित छैन। केही समयअघिसम्म उनी दुर्गा प्रसाईँ नेतृत्वको अभियानसँग निकट थिए। उदार लोकतन्त्र, सुशासन र संस्थागत राजनीतिलाई आफ्नो आधार मान्ने रास्वपाको नेतृत्वमा आउन खोज्ने व्यक्तिले आफ्नो विगतका राजनीतिक छनोटबारे स्पष्ट जवाफ दिनैपर्छ। केवल नयाँ दलमा प्रवेश गरेकै भरमा पुराना प्रश्न समाप्त हुँदैनन्। लौरो अभियान र दुर्गा प्रसाइको कार्यगत एकता र विभाजनको औचित्यको प्रस्न उनीमाथि कायम नै छ ।

त्यसैगरी, मानार्थ विद्यावारिधिलाई शैक्षिक उपाधिको रूपमा प्रस्तुत गर्दै नामअघि ‘डा.’ प्रयोग गर्ने प्रवृत्तिले पनि उनको सार्वजनिक विश्वसनीयतामाथि प्रश्न उठाएको छ। सार्वजनिक जीवनमा प्रतीक र प्रस्तुतीकरणभन्दा पारदर्शिता र सत्यनिष्ठा बढी महत्त्वपूर्ण हुन्छ। नयाँ राजनीतिक संस्कारको दाबी गर्ने दलमा यस्ता विषय सामान्य मानिनु हुँदैन।

अर्कोतर्फ, पूर्वमन्त्री कुमार खड्काको प्रवेशले रास्वपाभित्र अर्को बहस जन्माएको छ। विभिन्न राजनीतिक यात्राबाट गुज्रिएर अन्ततः रास्वपामा आइपुगेका खड्कालाई धेरैले अवसरवादी राजनीतिको प्रतिनिधि पात्रका रूपमा हेर्ने गरेका छन्। विचार, दल र राजनीतिक अडान बारम्बार परिवर्तन गर्ने इतिहास भएका नेताहरूलाई रास्वपाले कुन मापदण्डका आधारमा नेतृत्वको प्रतिस्पर्धामा स्वीकार गर्ने भन्ने प्रश्न गम्भीर छ।

रास्वपाले स्थापना कालदेखि नै नयाँ राजनीतिक संस्कार, सुशासन, पारदर्शिता र उत्तरदायित्वको नारा उठाएको हो। जनताले पनि त्यही अपेक्षाका आधारमा पार्टीलाई समर्थन गरेका हुन्। तर संगठन विस्तारसँगै यदि पुरानै दलहरूका रोग—गुटबन्दी, अवसरवाद, शक्ति–संघर्ष र भागबन्डा—भित्रिन थाले भने रास्वपाको मौलिकता कमजोर हुनेछ।

त्यसैले गण्डकी अधिवेशनको मुख्य प्रश्न व्यक्ति होइन, प्रवृत्ति हो। नेतृत्व कसले पाउँछ भन्नेभन्दा पनि नेतृत्व कस्तो सोच र आचरण भएको व्यक्तिले पाउँछ भन्ने कुरा महत्वपूर्ण छ। सर्वसम्मति राम्रो अभ्यास हुन सक्छ, तर त्यो विधि र विचारको मूल्यमा हुनु हुँदैन। सहमति सम्भव नभए स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी निर्वाचन नै लोकतान्त्रिक विकल्प हो।

गण्डकीको नेतृत्व कुनै व्यक्तिको राजनीतिक उकासोको भ¥याङ बन्नु हुँदैन। त्यो नेतृत्वले संगठनलाई एकताबद्ध राख्न सक्ने, कार्यकर्तामा भरोसा जगाउन सक्ने र पार्टीको वैचारिक दिशा स्पष्ट राख्न सक्ने हुनुपर्छ।

अन्ततः, यो अधिवेशन रास्वपाको पहिलो वास्तविक सांगठनिक परीक्षा हो। निर्वाचन जितेर संसद् पुग्नु एउटा उपलब्धि हो, तर विधि, पद्धति, निष्ठा र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्नु अझ कठिन कार्य हो। गण्डकीका प्रतिनिधिहरूले व्यक्तिपूजा, अवसरवाद र क्षणिक प्रभावभन्दा माथि उठेर निर्णय गर्न सके भने मात्र रास्वपाले आफूलाई फरक राजनीतिक शक्ति भएको प्रमाणित गर्न सक्नेछ। यही अधिवेशनले गण्डकी मात्र होइन, आगामी दिनमा रास्वपाको राजनीतिक विश्वसनीयता र भविष्यको दिशा पनि निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्