Skip to content

पोखरामा शैक्षिक उत्कृष्टता, बड्स एकेडेमीका नितु र सुष्मा ४ जिपिए सहित पुरस्कृत

संवाददाता: पोखरा

पोखराको शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टताको मानक स्थापित गर्दै आएको बड्स एकेडेमी, पोखरा–६ बैदाम ले यस वर्षको एसईई २०८१ मा ४ जिपिए हासिल गर्ने विद्यार्थी नितु भण्डारी र सुष्मा खत्रीलाई जनही रु एक लाख नगदसहित भव्य सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह विशेष उत्साह, गौरव र प्रेरणामय वातावरणबीच सम्पन्न भएको थियो।

विद्यालयको शैक्षिक इतिहासमा अर्को सुनौलो अध्याय थप्दै ४ जिपिए ल्याएर संस्थाको प्रतिष्ठा उचाइमा पुर्‍याएका विद्यार्थी द्वयलाई नगद पुरस्कार, दोसल्ला र सम्मान–पत्र प्रदान गरिएको हो। कार्यक्रममा विद्यालयका संस्थापक तथा प्राचार्य प्रकाश राज वाग्लेले जनही रु ७५ हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठले जनही रु २५ हजार प्रदान गर्दै कुल रु एक लाख नगद हस्तान्तरण गरेका थिए।

त्यसैगरी, गत वर्षको एसईई परीक्षामा ३.७९ जिपिए प्राप्त गर्न सफल पूर्णिमा वाग्ले र ३.६१ जिपिए ल्याएकी महिमा गुरुङलाई ‘ए प्लस अवार्ड’ प्रदान गरिएको छ। अन्य उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि कदर–पत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

समारोहलाई सम्बोधन गर्दै प्राचार्य वाग्लेले विद्यालयले केवल पाठ्यपुस्तकमा सीमित ज्ञान नभई जीवनोपयोगी सीप, आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको संस्कार समेत प्रदान गर्दै आएको उल्लेख गरे। “नर्सरीदेखि कक्षा १० सम्म यही विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले निरन्तर परिश्रम, अनुशासन र धैर्यको उदाहरण प्रस्तुत गरेका छन्,” उनले भने, “आजको उपलब्धि केवल दुई विद्यार्थीको सफलता मात्र होइन, यो सम्पूर्ण शिक्षक, अभिभावक र विद्यालय परिवारको सामूहिक समर्पणको प्रतिफल हो।

कार्यक्रममा एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बड्स एकेडेमीले प्राप्त गरेको ४ जिपिएको नतिजा कास्की जिल्लामा मात्र सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको दाबी गरे। उनले विद्यालयले गुणस्तरीय शिक्षाको क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै अभिभावकको निरन्तर साथ र सहकार्य आवश्यक रहेको बताए।

सम्मानित विद्यार्थी नितु भण्डारी र शुश्मा खत्रीले आफ्नो उपलब्धिको श्रेय विद्यालय परिवारलाई अर्पण गर्दै नियमित अभ्यास, स्पष्ट मार्गदर्शन र सकारात्मक शैक्षिक वातावरण नै सफलताको मूल आधार भएको प्रतिक्रिया दिए। “हामीलाई निरन्तर प्रेरणा र हौसला प्रदान गर्ने शिक्षक र अभिभावकप्रति हामी कृतज्ञ छौं,” उनीहरूले भावुक हुँदै भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठले बड्स एकेडेमीले विगतदेखि नै गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र सर्वाङ्गीण व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको स्मरण गराए। आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने र शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयप्रति आभार प्रकट गर्दै अनुशासित वातावरण, दक्ष शिक्षक र प्रभावकारी शैक्षिक व्यवस्थापनकै कारण आफ्ना सन्तानले उल्लेखनीय सफलता हासिल गरेको धारणा राखे।

बड्स एकेडेमीले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सार्वजनिक रूपमा सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। यसले विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरूलाई पनि उच्च लक्ष्य निर्धारण गर्न र उत्कृष्टताको प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्ने विश्वास गरिएको छ।

पोखराको शैक्षिक मानचित्रमा आफ्नो सशक्त उपस्थिति कायम राख्दै आएको बड्स एकेडेमीको यो उपलब्धिले निजी विद्यालयहरूबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको शिक्षाविद्हरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्